काठमाडौं । आदिवासी जनजाति पत्रकारहरुको छाता संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको आठौं संघीय महाधिवेशन चैत्र १५ देखि १७ सम्म गर्ने फोनिजले निर्णय गरेको छ । काठमाडौंमा सम्पन्न फोनिजको दशौं पूर्ण बैठकले जिल्ला अधिवेशन र प्रादेशिक महाधिवेशनहरु सकाएर संघीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।
देशभर ४ हजार बढि संख्यामा सदस्य रहेको फोनिजको हाल पाँच वटा संरचनाहरु छन् । जिल्ला समिति, प्रदेश समिति, विदेश शाखा समिति, संस्थागत सदस्य संस्था र संघीय समितिलगायतका फोनिजका संरचनाहरु सक्रिय छन् । ८ वटा जातिय संस्थाहरु मिलेर बनेको महासंघको अहिले प्रदेश महाधिवेशनहरु हुने क्रममा छ ।
पौष २७ गते अधिकांश जिल्ला समितिहरुले अधिवेशन सम्पन्न गरेको छ । केही बाकी जिल्ला समितिहरुले आफ्नो अनुकुलतामा माघ २० सम्म सम्पन्न गरिसक्ने फोनिजका महासचिव समीर बलामीले बताउनुभयो । फोनिजको हाल ६५ जिल्ला समिति र ८ विदेश समितिहरु छन् । यस्तै सातै प्रदेशमा फोनिजको प्रदेश समितिहरु छन् । जस मध्य प्रदेश नं. १ समितिले तेश्रो प्रदेश महाधिवेशन पनि सम्पन्न गरेको छ । विजयबोध लावतीको अध्यक्षतामा नयाँ कार्यसमिति महाधिवेशनबाट निर्वाचित भएका छन् । महिला सचिव बाहेक सबै पदाधिकारी तथा सदस्यहरु पूर्ण भएका छन् ।
अन्य प्रदेशहरुको महाधिवेशन फाल्गुन १० भित्र सम्पन्न हुने फोनिजका अध्यक्ष गजुरधन राईले बताउनुभयो । फाल्गुन १० गते फोनिजले आठौं प्रदेशको रुपमा प्रतिष्ठान र एशोसिएट (विधागत) पत्रकारिताका सदस्यहरुलाई समेटेर उपत्यका विशेष समन्वय प्रदेशको पनि गठन गर्नेछ ।
यस्तै फोनिजमा तमु (गुरुङ) सञ्चारकर्मी संघ, मगर पत्रकार संघ, किरात राई पत्रकार संघ, तामाङ सञ्चार समूह, लिम्बु पत्रकार संघ, थारु पत्रकार संघ, नेपाल, नेवारः पत्रकार राष्ट्रिय दबु र शेर्पा सञ्चार समूह आवद्ध छ । २०५६ मा स्थापना भएको तत्कालिन नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) जातिय संस्थाहरुको आवद्धता पछि २०७२ मा पोखरामा सम्पन्न पाँचौं संघीय महाधिवेशनबाट महासंघ अर्थात फोनिजको रुपमा विकसित भएको हो ।
देशभरिबाट प्रतिनिधिमूलक ६०० बढि प्रतिनिधिहरुसहितको संघीय महाधिवेशन आयोजना हुने फोनिजले निर्णय गरेको हो । महाधिवेशनका लागि फोनिजले विभिन्न उप–समितिहरु बनाएर तयारी थालेको छ । फोनिजले प्रतिनिधि व्यवस्थापन समिति, आर्थिक समिति, प्रचार प्रसार समिति, खाना तथा आवास व्यवस्थापन समिति, अतिथि व्यवस्थापन समिति, मञ्च व्यवस्थापन समिति, साँस्कृतिक व्यवस्थापन समितिलगायतका उप–समितिहरु बनाएको छ ।
फोनिजले आफ्नो सदस्यहरुको हकहित, श्रम, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा निरन्तर काम गर्दै आएको छ । यस्तै आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिका लागि तालिम तथा, कार्यशाला गोष्ठीहरुको आयोजना गर्दै आएको छ । यसको अलवा फोनिजले आदिवासी जनजाति र समावेशीताको सवालमा मुद्धा र विषयहरु उठान गरिदने लगायतका काम गर्दै आएको छ । आदिवासी जनजातिहरुको विषयमा निरन्तर संचार पैरवीमा फोनिज लाग्दै आउको छ । फोनिजले लुम्बिनी प्रदेश वा मधेश प्रदेशमा आठौं महाधिवेशनको आयोजना गर्नेछ । महाधिवेशनले तीन बर्षका लागि भावी कार्ययोजना र लक्ष्य निर्धारण गर्दै नयाँ कार्यसमितिको चयन गर्नेछ ।